Narnath Luitel
मृत्युको मुखबाट जो उम्किन चाहन्छन्
नरनाथ लुइँटेल
‘घण्टी बज्दैछ
मृत्युको सूचनामा
कसरी सहूँ ?’
(साकुरा र सुस्केरा– २०५९)
स्रष्टा रेणुका भट्टराईले आजभन्दा एघार वर्षअघि लेख्नुभएको यो हाइकुले व्यक्त गर्न खोजेको पीडानुभूतिको पात्र अहिले भट्राई आफैं बन्नुभएको छ, कति दुःखद प्रसङ्ग !! मन, विचार र भावना मिल्ने जीवन साथी रोजेर बाह्र वर्षअघि दाहालको दैलोमै विल्कुल साहित्यिक वातावरण बीच बिके पाल्पालीसित बिहे भएको थियो रेणुकाको । घनघोर अपठेरा र अभावग्रस्त दिनहरूमा पनि कुनै आँच आएन उनीहरूको दाम्पत्य जीवनमा । अक्षरको कर्मक्षेत्रमा यो जोडी निरन्तर साथै रह्यो । पेरोल (साहित्यिक प्रकाशन), नेपाल बोर्डर (पहिले मासिक र पछि साप्ताहिक), राजधानी र राजधानी बाहिरका धेरैजसो साहित्यिक कार्यक्रमहरूमा पनि यो जोडी साथै देखिन्थ्यो । छ महिना नाघ्न लाग्यो, अर्कै दुःखद प्रसङ्गले पार पाइ नसक्नु आँसुको समुद्रमा हेलिएको छ अहिले यो जोडी ।
०००
वि.सं. २०३२ असोज ६ गते पाल्पाको सोमादी वडा नं. ६ मा जन्मिएर राजधानी काठमाडौंलाई आधारथलो बनाई पत्रकारिता र साहित्य सिर्जना एवम प्रकाशनमा समर्पित सिर्जनशील प्रतिभा हुनुहुन्छ स्रष्टा रेणुकाका पति बिके पाल्पाली । पाल्पाली मिर्गौला सम्बन्धी दुसाध्य रोगको शिकार भएर विगत छ महिनादेखि बिस्तरामा हुनुहुन्छ । पत्नी रेणुकाले स्रष्टा एवम् शुभचिन्तकहरूबाट आर्थिक सहयोग जुटाएर बिकेलाई दिल्लीस्थित मेदान्त अस्पतालसम्म पु¥याउनुभयो । उपचारकै क्रममा पाल्पालीमा सुगरले आक्रमण ग¥यो, प्रेसरले झम्टियो र मृगौलाको उपचारमा अर्को अवरोध सिर्जना भयो । मेदान्त अस्पतालका चिकित्सकले उहाँका दुईवटै मिर्गौला फेर्नु पर्ने हालतमा रहेको बताएका छन् । रेणुका आफ्नो एउटा मिर्गौला दिएर पनि बिकेलाई बचाउन चाहनुहुन्छ । तर सुगर नियन्त्रणमा नआई यो सम्भव छैन । त्यो भन्दा पनि ठूलो कुरा त पाल्पाली परिवारसँग मृत्युलाई जित्ने गरेर उपचार गर्ने खर्च छैन ।
कोटेश्वर, महादेवस्थानको एककोठे डेरा । भान्सा, पुस्तक र पत्रपत्रिकाको स्टोर, साथीभाइ आउँदा भेट्ने बैठक कोठा, सानीछोरी सुधाले हारमोनियम बजाउँदै रियाज गर्ने सङ्गीतकक्ष र आराम गर्ने बेडरूम बस् सबै यही यौटा कोठा । अहिले अक्षरकर्मी स्रष्टा पाल्पाली यही कोठामा छटपटाई रहनुभएको छ । बिना रोगको जाँच–उपचारमा मन्त्री र सांसदहरूका लागि करोडौं खर्चने यो राज्यलाई पत्तो छैन, दुई दशकदेखि भाषा साहित्य र पत्रकारितामा श्रम, समय र सिप अर्पण गरिरहेको एउटा होनहार व्यक्तित्व १०/१५ लाख रूपैयाँ खर्च गर्न सक्ने आर्थिक आधार नभएका कारण असमयमै मृत्युसँग लाप्पा खेलिरहेको छ ।
०००
‘जब म मर्छु
कटुसको रूखमा
देश नै रून्छ ।’
(‘चार्लीको चिठी’ हाइकुसङ्ग्रह– २०६०)
जापानी शैलीको हाइकुलाई नेपाली अभिव्यक्तिमा ढाल्न पर्याप्त योगदान दिने बिके पाल्पालीले २०६० सालमा आफ्नै मृत्यु बारेको कल्पनालाई माथिको हाइकुमा यसरी उतार्नु भएको थियो । तथापि पाल्पाली अहिलेसम्म जीवित हुनुहुन्छ । प्रिय बिके, कोही नमरीकन देश कहाँ रून्छ र ? कोही नमरेसम्म देश कहिले पो राएको छ र ? मात्र ऊ रून तपाइँको मृत्यु पर्खिरहेको छ । दुई दशकदेखि पत्रकारितामा क्रियाशील तपाइँको अवस्था हेर्न सूचना तथा सञ्चारमन्त्री नामको कुनै पुतला आयो त तपाइँको यो डेरामा ?
पाल्पालीको पछिल्लो यो दूरावस्थाबारे सञ्चार माध्ययमहरूमा बाक्लै समाचार आइरहेका छन् । समाचार र जानकारीले कसकसका मनमा के कस्तो संवेदना उमा¥यो कुन्नि थाहा छैन । मैले चाहिँ उद्वेलित हुँदै बेलुका रेणुका भट्टराईलाई फोन गरेँ र उहाँको डेराको अवस्थितिबारे जानकारी लिएँ । भोलिपल्ट बिहानै पुगेँ कोटेश्वरको महादेवस्थान मन्दिर । मन्दिरभन्दा अलि तलको धुलाम्य बाटो छिचोलेर उहाँको एककोठे डेरामा पुग्दा निकै विदीर्ण मानसिकतामा रेणुका बिकेबम लागि औषधि पानीको व्यवस्था गरिरहनु भएको थियो । बोल्न निकै सकस अनुभव हुँदाहुँदै पनि मैले उहाँसित सोधेँ– ‘तपाइँलाई अहिले कस्तो छ ?’ विछ्यौनामा कोल्टे फेर्दै निकै दबेको आवाजमा उहाँले सुस्तरी भन्नु भयो– “औषधि उपचार चलिरहेको छ, औषधिको मात्रा पूरा भई नसकेको हुनाले अहिले नै निको हुन्छ कि हुँदैन भन्न सकिने अवस्था पनि रहेन । तर औषधिकै कारणले हो कि शरीर असाध्य गलेको छ ।... बाहिरफेर निस्कन, हिँडडुल गर्न सक्ने अवस्था छैन । धेरैबेरसम्म बोल्न पनि सकिरहेको छैन । बोल्दा बोल्दै भित्रबाटै बोली सुकेर आउँछ । शरीर एकदम कमजोर भएको महसुस गरेको छु । खोकी पनि लाग्छ ।... मेरो लेखन क्षेत्र अहिले ठप्पै भएको छ । निकै गाह्रो भए पनि हरेक दिन जसो केही समय अध्ययन चाहिँ गरिरहेको छु । साहित्य र पत्रकारिता क्षेत्रका साथीहरू भेट्न आइरहनुभएको छ । म दिल्लीबाट फर्केर आएपछि भने साथीहरूको आउने क्रम अलि पातलो भएको छ... ।”
बोल्दा अझ असजिलो भइरहेको बुझेर मैले उहाँलाई थप प्रश्न गरिन । बरू रेणुकाले बताउनुभयो शिक्षण अस्पतालदेखि मेदान्तसम्मको पीडादायी यात्रा वृतान्त । अविरल बगेको उहाँको आँसुले अझ धेरै बतायो । पाल्पालीसँगै दिल्लीको मेदान्त अस्पतालबाट पाल्पालीलाई लिएर नेपाल फर्किए लगत्तै भट्टराईले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको थियो– ‘फर्किएँ दिल्लीबाट... । भरोसा टुक्रियो... । अन्यौल अन्यौल अवस्थामा भर्खरै काठमाडौं आइपुगेँ । अब म के गरुँ !’... उहाँको यो स्टाटसमा अभिव्यक्त भावबाट सहजै अनुमान गर्न सकिन्छ । आफ्ना पतिको उपचार पश्चात् सफलता बोकेर नेपाल आउने उहाँको सपना अधुरै रहेको छ । आशा र भरोशा गरेको काम बनेन, अर्थात् पाल्पालीलाई सकुशल बनाएर उहाँ फर्किनुभएको होइन ।
०००
दिल्ली पुगेपछि पनि पाल्पालीको अवस्था झन–झन गम्भीर बन्दै गयो । मिर्गौलाको रोगभन्दा पनि त्यसलाई निको पार्न नेपालमा सेवन गरिएको औषधी उपचारको प्रभावका कारण उब्जिएको मधुमेह (सुगर) र रक्तचापको मात्रा निकै न्यून भएका कारण उहाँ बेहोस नै हुनुभयो । उहाँलाई तत्कालै अस्पतालको आकस्मिक कक्षमा राखी उपचार गरियो । दिनहरू बित्दै गए । साथमा लगेको पैसा सकिदै गयो । तर पनि पतिको स्वास्थ्यमा कुनै सकारात्मक लक्षण देखिएन । ‘मिर्गौलामा घाउ नलाइदिएको भए उहाँलाई सुगर देखिने थिएन, सुगर नदेखिएको भए मिर्गौलाको उपचार सहज हुनेथियो ।’ आँसु र हिक्कासँग रेणुका यसो भन्दै हुनुहुन्थ्यो । “निकै ठूलो आशा र भरोशाका साथ मैले उहाँलाई दिल्ली पु¥याएँ । तर दुःखपूर्वक मैले भन्नु पर्छ त्यहाँबाट मैले स्वस्थ भएको पाल्पालीलाई हैन, झन अस्वस्थ अवस्थामै फर्काएर ल्याएकी छु । मैले मेरो श्रीमानलाई मात्र बचाउन खोजेकी हैन, नेपाली भाषा साहित्यको साधक, स्रष्टा एवम् बिसौं वर्ष पत्रकारितामा समर्पित एउटा सक्रिय पत्रकारलाई जीवन दिने प्रयत्न गरेकी हुँ ।”
बाह्र वर्षअघि पाल्पालीसँग दाम्पत्यजीवन शुरू गर्दाका क्षणहरूको सम्झना गर्दै रेणुका यसरी भक्कानिनु हुन्छ– “साहित्य क्षेत्रमा सक्रिय हुँदै आएका हामी दुईको आआफ्नै रोजाइमा विहे भयो । विहेको केही दिनपछि हामी साहित्यकार तुलसी भटट्राईलाई भेट्न प्रज्ञा प्रतिष्ठानमा गएका थियौं । उहाँ त्यतिखेर प्रतिष्ठानको सदस्यसचिव हुनुहुन्थ्यो । उहाँले मलाई छोरी जस्तै माया गर्नुहुन्थ्यो । हाम्रो विवाहको प्रसङ्ग चल्नासाथ उहाँले भन्नुभएको थियो– तिमीले एउटा साहित्यकारसित बिहे गरेर ठूलो गल्ती ग¥यौ, तिमी कहिल्यै सुखी हुन सक्दिनौ । उहाँ आफै साहित्यकार, उहाँले किन यसो भन्नुभएको होला जस्तो लागेको थियो... । आज मलाई साँच्चै यथार्थ लागिरहेको छ.... । एउटै क्षेत्रमा क्रियाशील, एकै भावनाको व्यक्तिसित बिहे गर्दा यति दुःखी हुनुपर्छ भन्ने कुरा उहाँले कसरी भन्नुभयो ? उहाँले भने जस्तै साँच्ची म दुःखी नै भएँ यतिबेला, म अब मेरा प्रिय पति बिकेलाई पनि बचाउन नसक्ने अवस्थाको सामना कसरी गर्न सक्छु, मलाई थाहा छैन... ।”
रेणुका आफ्नो मिर्गौला दिएर पनि पाल्पालीलाई बचाउन चाहनुहुन्छ, मेदान्त अस्पतालका चिकित्सकले मिल्छ पनि भनेका छन् । तर यो सब गर्न पाल्पाली परिवारसँग नभएको आर्थिक स्रोत कसरी व्यवस्थापन गर्ने ? यही चिन्ताले ग्रस्त हुनुहुन्छ रेणुका । राज्य वा सरकारले केही सहयोग गर्छ कि भन्ने आशा पनि व्यक्त गर्नुहुन्छ उहाँ तर स्थिति यति गम्भीर हुँदासम्म पनि कुनै निकायले सकारात्मक चासो दिएको छैन । नेपाल प्रज्ञा प्रतिष्ठानले रु. २५ हजारको चेक दिएर आफ्नो दायित्व पूरा भएको ठानेको छ शायद ।
‘स्रष्टा विके पाल्पाली बचाऔँ’ अभियानका रुपमा विभिन्न सङ्घ–संस्था साहित्यकार सामजसेवी लगायत सबैजना पाल्पालीलाई बचाउने उद्घोष गरेका छन् । यही अभियान मार्फत जुटेको आर्थिक सहयोग लिएर रेणुका दिल्ली पुग्नुभएको थियो । “उहाँको उपचारमा मैले खासै सफलता पाउन नसके पनि उहाँको जीवन रक्षाका लागि सहयोग र सहानुभूति प्रकट गर्नुहुने सबै सबैप्रति आभार प्रकट गर्दछु । तथापि अब पाल्पालीलाई सञ्चो भयो भन्ने खबर मैले कसैलाई भन्न पाइँन । यो भन्दा दुःखको कुरा मेरो जीवनमा केही पनि रहेन । तर पनि सास रहुन्जेल आश हुँदोरहेछ । थप उपचार प्रक्रियाका लागि अझै पनि तपाइँहरूको साथ, सहयोग मलाई निरन्तर चाहिने स्थिति रह्यो ।” म अवाक, अवाक भएँ– रेणुकाको भने आवाज यसैगरी थर्थराई रह्यो ।
डेराबाट निस्कनु अघि विके पाल्पालीलाई म फर्कन लागेको आभास भयो । उहाँले एक कोल्टो फेर्नु भयो र सकिनसकी केही बोल्न खोज्नुभयो– “मैले यो बिस्तराबाट, तपाइँ र तपाइँको मिडियामार्फत साहित्यिक स्रष्टा मित्रहरूलाई कमसेकम एकपटक सदासयता साथ भेट गरेर मलाई बाँच्ने हौसला दिनका लागि अनुरोध गर्दछु ।” पाल्पालीको गला अवरूद्ध भयो, उहाँ अरू बोल्न सक्नु भएन ।
यसरी एउटा स्रष्टा मृत्युको मुखमै पुगेर यो राष्ट्रसँग, यो राज्यसँग, तपाइँ हामी सञ्चारकर्मीसँग, र स्रष्टा मित्रहरूसँग जीवन रक्षाको अनुनय गरिरहेको छ । उहाँको जीवन रक्षाको दायित्व यो देशको सरकार, यो देशको राज्य, अनि तपाइँ हामी सबैको होइन र ? पाल्पालीको अकल्पनीय यो अवस्थाले भाषा साहित्य र पत्रकारितामा समर्पित नेपाली स्रष्टाहरूको दुर्दमनीय अवस्थालाई फेरि एकपटक दुखान्त ढङ्गले प्रस्तुत गरेको छ ।
०००
यसरी भविष्य अनिश्चय र अन्योलको अँध्यारो सुरूङभित्र पसिसके पनि छ कक्षामा पढ्दै गरेकी एक्ली छोरी सुधालाई काखी च्याप्दै अत्यन्त आर्त स्वरमा रेणुका भन्नुहुन्छ– ‘मैले अझै हरेश खाएकी भने छैन सर !’ प्रतिजवाफमा म केही बोल्न सकिनँ, मेरो पनि गला अवरूद्ध भयो, आँखाको डिल भरिएर केही ताता ढिकाहरू तलतिर झर्न थाले । म हतार हतार कोठाबाट बाहिरिएँ । एक हप्ता बितिसकेको छ । अहिले यी पङ्ति लेखिरहेको बेला म रेणुकाको ‘साकुरा र सुस्केरा’ हाइकुसङ्ग्रहमा परेको एउटा हाइकुका यी हरफहरूले बर्तमानमा दिन खोजेको अर्थ पहिल्याउने कोशिस गर्दैछु :
“बुद्धको मुटु
फेरि खोज्दै जान्छु म
भेट्छु कि कतै ।”
के रेणुकाले खोज्दै गरेको बुद्ध बनेर यो देशको राज्य वा सरकार उनीहरूको एककोठे डेराको ढोका ढकढकाउन पुग्ला र ? बिके पाल्पालीले जीवन रक्षाका निम्ति गर्नुभएको अनुनयको यो आद्र्र आवाज सुन्ने फुर्सत त छ ?
०००
यथासक्य सहयोग गर्न चाहने उदारमना कोही हुनुहुन्छ भने :
कुमारी वैङ्कमा रहेको रेणुका भट्टराईको खाता नं. के.४७१५९ एस्.
किस्ट वैङ्कमा रहेको रेणुका भट्टराईको खाता नं. ०२०–२१७४१०
भट्टराईसित सिधा सम्पर्क : ९८४१–१८७०७८
कलङ्की, काठमाडौं
narnath@gmail.com
स्रष्टा र सिर्जना स्तम्भ अन्तर्गत
‘बुधबार’ साप्ताहिकमा २०७० मङ्सिर २६ प्रकाशित
सर्वधिकार लेखकमा सुरक्छित।
0 comments:
Post a Comment